बन्द विचार (लघुकथा)- दीपक समीप - अक्षरयात्रा

Sunday, January 10, 2021

बन्द विचार (लघुकथा)- दीपक समीप

 लघुकथा            

बन्द विचार 

                                                        - दीपक समीप  

   उजेली र चमेली मन मिल्ने छिमेकी थिए । बाहिरबाट हेर्दा दोस्ती राम्रै हो भन्नू पर्छ हामी देख्नेहरुले पनि । घाँसदाउरा , मेलापात गर्दा पनि प्राय सँगसँगै देखिन्थे उनिहरु ।तर अचानक  एकदिन खोइ के मा हो कुन्नी मन मुटाव भएर बोलचाल बन्द भएको भन्ने पनि सुनियो । एउटै गाउँ ठाउँ भएको हुनाले बेलामौका बाझाबाझ गरेको पनि हामीले सुन्यौं  । मान्छे मन परेपछि जे बोले पनि जे भने पनि राम्रै लाग्दो रहेछ । मान्छे मन नपरेपछी राम्रै भने पनि नराम्रो लाग्दो रहेछ । सानो घच्चोपच्चो पनि सहन गाह्रै परिरहेको छ अहिले उनिहरुलाई । 

आज एकाबिहानै उजेली फत्फताएकी सुनियो , हेप्नुको पनि एउटा हद  हुन्छ नि गाँठे !  घरमा लोग्नेमान्छे छैन भन्दैमा कति विधि हेप्न सकेका ? सक्न पनि !  हुँदा हुँदा अब त त्यसका घरका पशुले समेत हेप्न थाले ए रात्तै ! 

 त्यस घरको राँगो आउँछ मेरै भैंसीमाथी उक्लन्छ ।

 त्यस घरको बोको आउँछ मेरै बाख्रीको आगाडी पछाडी सुँघ्छ ।

 हुँदा हुँदा त्यसको जाबो कुखुराको भाले समेत आएर मेरै पोथीलाई लखेट्छ बा ! 

 ए ! पातर्नी ! अब त तेरो पोइलाई पनि यतै पठा .... ! त्यही एउटा मात्र आउन बाँकी छ ।

ब्लड प्रेसरको पारो दिमागसम्म सर्केपछी के भन्नू हुन्थ्यो के  भन्नू हुन्थेन उजेलीले ख्याल गरिन । रिसको चस्माले झन आँखा देख्न समेत नसक्ने भइ ।


 चमेली पनि के कम ! फरिया उचाल्दै पाखुरा सुर्कन थालीहाली , ए ! चोथाले ! कति उफ्रिन सकेकी बिहान बिहानै ! च्यातिदिउँ तेरो मुखसुख ? के सोंच्याछस् मेरो लोग्नेलाई ! पशु हो र ! 


यता हर्केले भने भित्र भित्रै योजना बुनिसकेको थियो उजेलीसम्म पुग्ने । हुन त हुने हुनामी टरेर टर्दैन भन्छन् । कम से कम पशु भए त दाम्लोले बाँधिराख्न हुन्थ्यो बरु ।                               


No comments:

Post a Comment