कविता
महत्त्व
- दीपक समीप
मित्र !
वर्षौं अघि
हाम्रो झगडा अन्त्य गर्न
म तिमीसँग
हात मिलाउन चाहन्थें ।
भक्कानिदै
पराईघर जानेबेला
प्यारी बैनीलाई
सप्रेम
हात हल्लाई हल्लाई बिदाई गर्न चाहन्थें
मलाई अझै मेरो भाइको
प्रत्येक सफलताहरुमा
बेहद खुशी भएर
गर्विलो धाप मार्ने इच्छा भइरहन्छ।
सधैं
स्कुल जानुअघि
मेरी छोरीको
रेशमी कपाल
खुशीको रिबनले
आफैंले बाटिदिन मन लागिरहन्छ मलाई।
भर्खर भर्खर
टुकुटुकु हिंड्न शुरु गरेको
मेरो छोरालाई
आफ्नै हातका औंलाहरु दिएर
जस्तो सुकै कठिन बाटोहरुमा
सजिलोसँग हिंड्न सिकाउन मन छ।
मेरी आमाको
धमिलो धमिलो दृश्य देखिने
स्नेही आँखाबाट
उमेरले कोरेको धर्साहरुको गालामा
बगिरहेने दु:खको नदी
आफ्ना दुवै हातका औंलाहरुले
पुछिदिन पाए हुन्थ्यो भन्ने लागिरहन्छ मलाई।
मेरी प्रियतमा !
म तिमीलाई
न्यानो अङ्गालो हाल्न चाहन्छु
घरीघरी
तिमीलाई मायाले सुम्सुम्याउन चाहन्छु।
जिन्दगीमा
नभएका चिजहरुको
ठूलो महत्व हुँदो रहेछ
यतिखेर
न मसँग तिमी छौं
न मसँग मेरा दुवै हातहरु छन्।
No comments:
Post a Comment