अक्षरयात्रा: कविता
Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Sunday, January 10, 2021

कविता - * कविताको अनुहार *

11:04 PM 1
कविता  - * कविताको अनुहार *

   

कविता


                           


दीपक समीप


* कविताको अनुहार *



अचेल

म दिक्क भएको छु

पढ्दा पढ्दा

डेट एक्स्पायर पोइजन जस्ता

समकालिन भनिने कविताहरु । । । । । । । । ।


पढिरहेको छु

अघिल्लो दिन देखिको

त्यत्रो कुँदाकुँदा पछि पनि 

रित्तो सिलिण्डर बोकेर

घर फर्कनेको अनुहार जस्तो कविता ।

पढिरहेको छु

नाकाबन्दीले तहस नहस

श्रमिकको साँझ विहान जस्तो कविता

मा पढिरहेको छु

अदालतमा पटक पटक पेशी सरेर

फैसला गर्नै बाँकी

फैसला जस्तो कविता ।


म  

देखिरहेको छु

धुमिल धुमिल कविहरु

जो दैडिरहेकाछन् फगत दौडिरहेकाछन्

कोही  पार्टी कार्यालयतिर

कोही  पत्रीका कार्यालयतिर

कोही  टी भी रेडियो कार्यालयतिर

कोही  चिया पसलतिर

कोही  भट्टी पसलतिर

र 

कोही  मसाज पार्लरतिर

त्यसो त 

नेताहरु पनि दौडिरहेकाछन् अहिले

कोही  उतरतिर दौडिरहेकाछन्

कोही  दक्षिणतिर दौडिरहेकाछन्

कोही  सडकतिर दौडिरहेकाछन्

कोही  सदनतिर दौडिरहेकाछन्

भूपीको कविता जस्तो यो देशमा

बैसाखी टेकेर दौडनेहरुको 

यहाँ ठूलो भिड छ

हामी भने 

जरा गाडेर

पढिरहेका छौं  तावाका माछा जस्तो कविता । 



साथी !

अचेल 

हिट भएकाछन्

बिरामी बोकेको एम्बुलेन्समा

हानिने ढुङा जस्तो कविता

री टुइट गरिएकाछन्

निर्दोषलाई लगाइएको 

हतकडी जस्तो कविता

लाईक गरिएका छन्

सडक दुर्घटनामा 

लासको ब्यापार गरेर

मागिएको 

क्षतिपूर्ती जस्तो कविता

भाइरल भएकाछन्

पोर्न फिल्मका संवाद जस्ता कविता ।


अरे ! ओ !! कवि !!!

तिमी किन लेखिरहेका छौ 

रुघाखोकी जस्तो कविता ?

जुन

न तिमीलाई काम लाग्छ

न अरुलाई काम लाग्छ ....... ।



 

महत्त्व (कविता)- दीपक समीप

3:57 AM 0
महत्त्व (कविता)- दीपक समीप

 कविता

          महत्त्व

                                   - दीपक समीप


मित्र !
वर्षौं अघि
हाम्रो झगडा अन्त्य गर्न
म तिमीसँग
हात मिलाउन चाहन्थें ।
भक्कानिदै
पराईघर जानेबेला  
प्यारी बैनीलाई
सप्रेम
हात हल्लाई हल्लाई बिदाई गर्न चाहन्थें

मलाई अझै  मेरो भाइको
प्रत्येक सफलताहरुमा
बेहद खुशी भएर
गर्विलो धाप मार्ने इच्छा भइरहन्छ।
सधैं
स्कुल जानुअघि
मेरी छोरीको
रेशमी कपाल
खुशीको रिबनले
आफैंले बाटिदिन मन लागिरहन्छ मलाई।
भर्खर भर्खर
टुकुटुकु हिंड्न शुरु गरेको
मेरो छोरालाई
आफ्नै हातका औंलाहरु दिएर
जस्तो सुकै कठिन बाटोहरुमा
सजिलोसँग हिंड्न सिकाउन मन छ।
मेरी आमाको
धमिलो धमिलो दृश्य देखिने
स्नेही आँखाबाट
उमेरले कोरेको धर्साहरुको गालामा
बगिरहेने दु:खको नदी
आफ्ना दुवै हातका औंलाहरुले 
पुछिदिन पाए हुन्थ्यो भन्ने लागिरहन्छ मलाई।
मेरी प्रियतमा !
म तिमीलाई
न्यानो अङ्गालो हाल्न चाहन्छु
घरीघरी
तिमीलाई मायाले सुम्सुम्याउन चाहन्छु।
जिन्दगीमा
नभएका चिजहरुको
ठूलो महत्व हुँदो रहेछ
यतिखेर
न मसँग तिमी छौं
न मसँग मेरा दुवै हातहरु छन्।


Friday, January 8, 2021

ढुङ्गा (कविता)- दीपक समीप

7:11 AM 0
ढुङ्गा (कविता)- दीपक समीप

       ढुङ्गा

                      - दीपक समीप
गोधुलीमा
चराहरु गुँड फर्कने बेला
हामीले
आफ्ना बासस्थान छोडेका थियौं।
झमझम दर्कने झरी
परिरहेका बेला
हामी निस्किएका थियौं
हामीसंग छाता थियो छत्री थियो
हामीसंग स्याखु थियो   रेनकोट थियो
थियो   साथमा एउटा दृढ अठोट थियो
  हामी डेढ गाउँको
यात्रामा निस्किएका थियौं
एक हुल अक्षर यात्राका यात्रीहरु
अध्यारोमा
पिचबाटो छोडेर
हिलाम्मे रातमाटे बाटो समाएपछि
हाम्रो असली यात्रा शुरु भएको हो
नागबेली हिले बाटोमा चिप्लिदै चिप्लिदै
हामीले रोमाञ्चक यात्रा गरेका हौं
हाम्रा संवादहरुले
आगोमा घ्यू थपिरहदा
धपक्क बलिरहेको
कति सुन्दर देखिरहेकी थियौ
तिमी डेढगाउँ
किवंदन्तिमा
गाई गोठालो जादा
हामीले ठेलो हानेको ढुङ्गा
हराइरहदा
पुन: त्यही ढुङ्गाको थुप्रोमा
राम्रो ढुङ्गा खोज्दा
फेरि पाइन्थ्यो त्यही ठेलो हान्ने ढुङ्गा
हामीले थाहा पाएनौ
अकला माता
तिमी त्यही ढुङ्गा भएको !


साच्चै !
मान्छे पनि त्यही ढुङ्गा जस्तै भएको भए
जनयुद्धमा हराएका
मेरा बा पनि अहिले पाउन सकिन्थ्यो कि !