कथा
                        
दीपक समीप
        त्रासदी
                                             
       दुई वर्षपछि अचानक उनि महेन्द्रपुलमा भेटिइन् । व्यस्त बजारको सडक पेटीबाट भिड छिचोल्दै थिएँ म एकसुरले........ । 
समीप! कानमा आवाज ठोकिनु भन्दा पनि पहिले भिडमा हाम्रो शरीर ठोकिइसकेको थियो । तर मैले अनुहार तर्फ हेरेको थिइनँ ।
+  अरे ! अनुसा !! तिमी !!!  अचानक यहाँ ? कहिले आयौ ?
-  दुई दिन भयो ।
+  दुई दिन भइसक्दा पनि कुनै खबर गरेनौ त !
-  तिमीलाई थाहै छ , आजभोलि मोबाइल लाग्दैन र फोन पनि डिस्कनेक्ट छ ।
+  घरमै आएको भए  हुन्थ्यो नि  त ।
-  यसपाली हिम्मत आएन ।
    यसको बदलामा जमेरै केहि जवाफ दिऊँ भन्ने  लाग्दै थियो , सोंची नभ्याउँदै  उनले अर्को हतियार प्रयोग गरिन् ।
  बाबु छोरा ! बाबालाई नमस्ते गर ल । दुई वर्षे छोराले बालसुलभ लजाउदै दुई हात जोड्ने क्रममा उसको अनुहारमा पुलुक्क हेर्छु  र अनायसै म उनको छोरा भन्दा बढी लाजले  रातो हुन्छु । ओ ! गड !! कस्तो दुरुस्तै मेरो अनुहार !!! म भित्र - भित्रै पूरै भासिन्छु । चट्याङ परेको रुख झैं खङ्ग्रयाङ खुङ्ग्रुङ हुन्छु । मुटुको गति १२० कि मि प्रति घन्टाको दरले  हुँइकिइरहेको भान हुन्छ । यो बाक्लो ज्याकेट नहुँदो हो त  मुटुको हलचल सायद बाहिरसम्म  प्रस्टै देखिदो हो ।
अहिले  हेर्न लायकको मेरो स्थितिलाई कसैले वाछ पो गरिरहेको छ कि ? यताउति नियाल्छु । सबै आ- आफ्नै धुनमा भिड छिचोलिरहेका छन् । म आफूलाई बलजफत सामान्य स्थितिमा ल्याउने  कोशिश   गर्छु ।पकेटबाट रुमाल झिकेर पसिना पुछे जस्तो गर्छु।माघ महिनामा पनि झण्डै - झण्डै  लायककै पसिना छुट्न आँटी सकेको। म मन - मनै कमजोरी  ओकल्छु।
- उभिएर  कति गफ गरिरहने समीप ! जाऊँ कतै बसेर एकछिन गफ गरौं ।
+ ए ! हो त नि ! म पनि कति हुस्सु भा' को !
  म अनायसै हाँ मा हाँ मिलाउँछु। तत्पश्चात  हामी नजिकैको फेमिली रेष्टुरेन्टमा छिर्छौं।वेटर आएर मेनु तेर्स्याउँछ ।
+ के लिन्छौ अनुसा ?
- कफि ।
+ मात्र कफि?
- हो मात्र कफि ।
केहि बेरमै कफि आइपुग्यो ।उनि कफिको चुस्की मीठोसँग निर्धक्क लिइरहेकी छिन।छोरो जुस तान्दै छ। म घरी कफिको वाफ तर्फ हेर्छु, घरी छोरा तर्फ ।
+ बाबु तिम्रो नाम के हो? म मौनता भङ्ग गर्छु।
- समीप प्रधान हो यसको नाम ।
छोराको तोते बोली निस्कन नपाउँदै , मेरो अपेक्षा  विपरित अनुसा आफैं  भन्छे छोराको नाम गौरवसाथ , मेरो  आँखामा आँखा  जुधाउँदै। म तुरुन्तै नजर अन्यत्रै  मोड्छु ।अवाक् भएर पुन: हेर्छु घरी उनलाई,  घरी  छोरालाई ।अझै उनी एकोहोरो मलाई नै हेरिरहेकी रहिछिन् । के गरौं कसो गरौं भएर आउँछ मलाई ।कपको कफि उठाएर एक पटक सुरुप्प पार्छु , कफि चिसो भइसकेछ ।
+ अनुसा ! एउटा कुरा भनुँ?
- हुन्छ भन न ।
+ तिमी छोराको नाम अर्कै राख ।
- अहँ हुँदैन ।
+ तै पनि कोशिश गरी हेर।
- मलाई यो नाम प्रिय छ । स्पेसल्ली मेरो जिद्दीले नै राखेको  हो यो नाम ।
+ त्यो त मलाई अन्दाज भैसक्यो ।त्यही भएर कोशिश गरी हेर भनेको ।के रोशन जीले केहि राख्नु भएन छोराको नाम?
- त्यसो त उहाँले " आरोह " राख्नु भएको थियो र पनि मैले मानिन ।यसै मार्फत  तिम्रो  यादलाई सधैं  मेमोरी अनलाईनमा राखिरहन चाहन्छु म ।ता कि जिजिविषाका जस्तो सुकै मोड र खुड्किलाहरुमा पनि छुट्टै  रोमाञ्चकता प्रदान गर्न सकोस् ।
यो सुनेर झनै अवाक् भएँ म । मात्र हेरिरहेँ उनलाई र फोटोकपीलाई। त्यसपछी हामी उठ्यौं त्यहाँबाट ।सडकमा पुगेपछि  उनले ट्याक्सी  समातिन् र लागिन् आफ्नो गन्तब्यतिर । म त्यही उभिएर उनी चढेको सेन्ट्रो ट्याक्सी हेरिरहें  , देखुन्जेलसम्म । मन कता - कता भारी भएर आयो ।उकुसमुकुस बढेर आयो।के गरुँ कसो गरुँ छ्ट्पटी भयो एकतमासको मनभित्र । भिडबाट अलिक पर गई  एक खिल्ली चुरोट सल्काएँ ।सूर्य डुब्न लागिसकेको थियो , मन उतै छोडिए पनि खुट्टाहरु बढाएँ क्रमशः आफ्नो घरतर्फ ।
    रातभर सुत्न सकिनँ । विभिन्न तर्कनाहरु खेलिरहे फुटबल बनेर मेरो मनको मैदान भरी ।कस्तो बेला अफसाइड गोल गरिएछ र पनि रेफ्रीले गोल गरेको ह्विसिल बजायो ।नत्र भने मैदानबाट रातो कार्ड पाउने प्रायः सम्भावना थियो हाम्रो ।त्यसपछि  के हुन्थ्यो मैले सोचिंसकेको थिइनँ परिणाम ।
     छोरो पाएर पनि कुनै आकर्षण घटेको छैन उनीमा र मलाई हेर्ने उनको नजरमा ।मलाई लाग्छ , भुलिदिउन् उनले ति विगतका प्रेमका अक्षरहरु ।बिर्सिदिउन्  उनले म प्रतिका अवैधानिक मायाका कानूनहरु । काठघरामा उभिएर कुनै पनि चारित्रीक निर्णय सुन्न डराउँछु म अचेल । के बेलगाम घोडा हिन्हिनाएपछि सबै घोडसवारहरु  म जस्तै कायर बन्छन् परिणामदेखी ? र पनि  म भन्न सक्दिन - तिमी मलाई पुरै बिर्सिदेऊ । पक्कै पनि मानिसलाई आफ्नो पहिलो प्रेम बिर्सन गाह्रो पर्दोरहेछ र त उनी चुम्बकको चुम्बकिय गुण देखाइरहन्छिन् ।
      हिजोदेखि म आफूलाई  एउटा अपराधिक मानसिकतामा पाइरहेको छु। कुनै अपराध  गरिसकेपछिको वेचैन स्थितिमा गुज्रिइरहेको जस्तो मनस्थितिमा छु । कतै उनको लोग्नेले यी सब करतुत थाहा पाए भने के होला? समाजमा मेरो मूल्य र मान्यता कति तल ओर्लेला ? अनि उनको चरित्रताको प्रमाणपत्र ?अझ त्यसमाथी पनि त्यो अबोध बच्चाको भविष्य ? के म उनिहरुलाई साँच्चै नै स्विकार गर्न सक्छु ? पक्कै पनि , मैले उनको बिहेपछि हाम्रो सम्बन्ध बढाउनु उचित थिएन । तर तर्कनु पर्ने त उनले थियो। पानी त सतह जता ओरालो छ त्यतै बग्ने नै भयो। एक हदसम्म पानीको प्रवाह रोक्ने काम त उनले पनि गरेकी  हुन् नि ।तर मैले त्यतिबेला सम्झाएको  भए हुन्थ्यो । म पनि त चुपचाप बसें । नगर्नु पर्ने काम गरें । तर म मात्रै किन नपुंसक बनूँ उनको अगाडी ?
कि मेरो यो सोचाई भ्रम मात्र हो? साँच्चै उनको छोरा जन्मनुमा मेरो कुनै सहभागिता छिन कि ! तर म ब्यर्थै किन आतिइरहेको छु ? आत्तिइनु पर्ने त उनि हुन् । तर ठीक विपरित  उनि भने निर्धक्क बजार घुमेकी छिन् । घर गरेर खाएकै छिन् ।सासू ससुरा रिझाएकै छिन् । उनको त्यो अबैध  सन्तान हो भने त उनी झन् विचलित हुनुपर्ने ।तर किन त्यसको एक छनकसम्म पनि उनि भित्र पाइदैन ? बरु सन्तुष्टीले पूर्ण देखिन्छिन् सायद समाजको अगाडि  उनीसँग बच्चा जन्माउने कानूनी लाइसेन्स भएर हो कि ? हुन त उनको श्रीमान त्यती मूर्ख छैनन्  जति अरु पटमूर्ख छन् । मेरो विचारमा अलिक अन्योलताका धागाहरु जेलिएको हुनुपर्छ रोशनको मन मस्तिष्कमा।मात्र फुकाउने झन्झटले उनि मौन बसेका हुन् कि ? या समय पर्खेर बसेका हुन्? कि शिक्षित  तथा  उदार व्यक्तित्वको उदाहरण बन्न खोजेका हुन् ? मलाई मेरा यी दुवै अनुमान केहि हदसम्म सहि लागे पनि तेस्रो अन्दाज भने पटक्कै चित्त बुझ्दो लागेन  आफैलाई । समाजशास्त्र र रजनिशको यौन सिद्धान्त र अभिव्यक्तिमा पी एच डी गरेकै व्यक्ती भए पनि आफ्नी  श्रीमतिको चरित्रको मामलामा प्रत्येक नेपाली लोग्ने मानिसहरु आखिर अयोध्याको राम बन्छ्न् । प्रेमिकाको मामलामा भने भ्रम पालेर बाँच्नै सक्दैनन् विश्वका कुनै पनि स्व घोषित महापुरुषहरु ।तर केहि अपवादका रुपमा देखिए पनि शङ्कालु मानसिकतामा भने मच्चिइ मच्चिइ पिङ खेलिरहेका हुन्छ्न् तिनिहरु।
   हुन त मेरो मनको यो उथलपुथल उनको अगाडी स्पष्ट रुपमा राखे नि हुने हो। तर सिधै कसरी भनुँ यो छोरो रोशनको हो कि होइन ? फेरि उनको स्वाभिमानम चोट पुग्ने हो कि ! अर्को कुरा , बच्चाको डि एन ए परिक्षण गरुँ त मैले अरुको बच्चालाई बेकार हस्पिटल लगेर किन  हल्ली खल्ली गरुँ ? फेरि किन त उनको छोरामा म आफ्नो प्रतिरुप पाएको भ्रम पाल्छु ? उफ ! किन मेरो  मनमा यस्ता किसिमका सुनामी छालहरु आइरहन्छ्न् ? एक्कासी मेरो ब्लडप्रेसर बढे जस्तो लाग्छ । टाउको समाउँदै म क्लिनिकतिर लाग्छु ।
    ठिक वर्ष दिनपछी उनी फेरि भेटिइन् सपिङ मलमा साथमा श्रीमान् सहित ।औपचारिक अभिवादन मात्र आदानप्रदान  भयो हामी वीचमा ।अनुसा भने बिहे जस्तो कार्यमा पनि समीपले हामीलाई इन्भाइट नगरेको गुनासो पोख्दै थिइ मेरी श्रीमतिसँग । तिमीहरु त्यस समय बैंकक भएकोले खबर गर्न नसकेको यथार्थता बताएँ ।त्यसपछि उनि मत्थर भइन् ।जसरी त्यसबेला  अनुसाले मेरी श्रीमतीलाई शिरदेखी पाऊसम्म नियालेर हेरिन् , त्यो भन्दा बढी रोशनको नजरले मलाई केरकार गर्यो । मैले थाहा नपाए झैं गरें ।अरु कुरा भएन हामी वीच । पछि भेटौला भनेर हामी छुट्टियौं त्यतिखेर ।
    आज निकै चहलपहल  छ मेरो घरमा । मेरो बुबा आमा नाती खेलाउन पाएकोमा दङ्ग पर्नु भएको छ। श्रीमती त्यो भन्दा बढी खुसी देखिन्छे । इष्टमित्र छर छिमेक , साथीभाइहरुको बधाई खाइएको छ। प्रत्युत्तरमा म धन्यवाद भन्छु । मलाई खासै नौलो अनुभूति  भएको छैन छोरो जन्मिएकोमा र उत्पात खुशी पनि लागेको छैन ।खासमा अहिल्यै बच्चाको बाबु बन्ने रहर थिएन ।दुईचार वर्ष ग्याप गरौं बच्चा जन्माउन भन्ने लागेको हो ।तर श्रीमतिले निकै रहर देखाई बच्चा खेलाउन साथै कर पनि ।फलस्वरूप बिहे गरेको वर्ष दिनमै छोरो जन्म्यो ।आखिर भैहाल्यो ।ढिलो चाँडो एक दिन पाउनु त पर्छ नै मलाई पनि लाग्यो ।तर सकेसम्म त उम्कनै खोजेको हुँ ।तै पनि फुत्कियो कसरी कसरी।
 
   आज न्वारनको दिन ।पण्डित बाजेले राशीको नाम राखे ।बुबा आमाले पनि आफूलाई लागेको नाम राख्नु भयो।मैले पनि राखें " समीर " , मलाई खुब मन पर्ने नाम ।तर श्रीमतिलाई यो नाम चित्त बुझेन ।" प्रशान्त " राख्नुपर्छ छोराको नाम उनले रवाफ साथ भनिन् ।म नराम्रोसँग झस्कें यसपटक । हुन्छ हुन्छ जे राखे पनि , आखिर पाएकी उसैले हो , आमाले सहमती जनाउनु भयो ।एकपटक  राम्रैसँग मैले छोराको अनुहार हेरें मलाई कता कता आफू जस्तो लागेन ।श्रीमतितिर हेरें ऊ छोराको अनुहार हेरेर निकै प्रफुल्ल देखिएकी छे।
नातेदारहरु दाम चढाउँदै छोराको अनुहार हेर्दै छन् । केहिले खै को जस्तो हो को जस्तो मैले त ठम्याउनै सकिन सम्म भनेका छन् ।तर आमाले भने पास्नी नभएसम्म बच्चाहरुको वर्ण रुपरङ्ग फेरिइरहने कुरा गर्नु हुन्छ। आमाको कुराले म केहि हदसम्म आश्वस्त हुन्छु ।तर विश्वस्त हुन सक्दिन ।
  मनभित्र कुरा खेल्न थाल्छ ।अरुलाई यस्तो कुरा के भनुँ? कसरी भनुँ? श्रीमतिलाई झन् के सोध्नु यस्तो अहममा चोट पुग्ने  कुरा  ।यदि श्रीमती सतित्वमा छे भने उनको नजरबाट म निकै तल गिर्न पुग्नेछु। कुनै उपाय नसुझे पछि , बिहे गरेपछी श्रीमती  कति चोटी र कहिले कहिले माइत गइछ , म सम्झने असफल प्रयत्न गर्छु , सके सम्मका उनको माइती टोलका केटाहरुको अनुहार एक एक गरेर मेमोरी प्रीन्ट आउट गर्छु। बिहेका एल्बमहरु पल्टाउँछु।त्यत्रो सावधानी अपनाउँदा अपनाउँदै पनि म अर्थात हामी कसरी झुक्कियौं ! म फेरी गम खान्छु ।पुनः  सम्झन्छु - युरिन टेष्टमा पोजेटिभ फेला पर्दा उनि कहिल्यै नभएको सन्तुष्ट देखिन्थिन् ।चङ्गा भएकी थिइन् खुशीले त्यतिबेला उनी।त्यतिबेला त्यसलाई मैले स्वभाविक मानें र पनि छक्क नपरेको होइन । तर हाल कन्फ्युज्ड छु। सशङ्कित छु , कतै उनले लाइसेन्सको दुरुपयोग त गरिनन् ? मेरो विश्वास र सोझोपनको फाइदा त उठाइनन्? तर लाग्छ मेरी श्रीमती त्यस्ती खालकी छैन् ।तर पुरुषको  भाग्य र स्त्रीको चरित्र स्वयम भगवानलाई पनि थाहा हुदैन भन्छन् ।तथापि आफ्नै हिसाबले मन बुझाउने कोशिश गर्छु र आमाले भन्नु  भएको कहावत सम्झदै छोराको भात खुवाइ गर्ने समयको ब्यग्र प्रतीक्षा गरिरहेको छु , कतै छोराको रुपरङ्ग फेरिइहाल्छ कि .........।
     
                                 
- पोखरा।
 
 
 
 
 
