होलटाइमर बन्छु (अन्तरवार्ता) - अक्षरयात्रा

Monday, March 22, 2010

होलटाइमर बन्छु (अन्तरवार्ता)

होलटाइमर बन्छु

पोखराको रामबजारमा बसेर अन्तर्वार्ताको निमित्त प्रश्न तयार गरी नसक्दै मोवाइल बज्यो । जानु थियो औद्योगिक क्षेत्र । एक सहकर्मी साथीले मेरो मोवाइल उठाएर भनिदिए– ‘दाई हामी अमरसिंह चोकमा छौं । ल, ल आइपुग्यौं ।’ हतार–हतार दौडिनुको विकल्प थिएन । निर्धारित स्थानमा पुग्दा १५ मिनेट ढिलो भइसकेको थियो । मसँग धेरै तयारी प्रश्न थिएनन् तर अथिति सामुन्नेमा थिए पोखरेली साहित्यकार दीपक समीप । समीपसँगको कुराकानी सुरु गर्न लाग्दा चिया टेवुलमा तयार थियो । ‘साहित्य, जीवन, प्रेम, आफन्त कोसँग समीप हुनुहुन्छ तपाईं ?’ ‘जीवन र साहित्यसँग । मलाई आफू साहित्यसँग बढी नजिक भएजस्तो लाग्छ ।’‘साहित्यकारको उपनाम किन ? के साहित्यकार वास्तविक नाम लिएर बाँच्न सक्दैन ?’ ‘सक्छ किन नसक्ने । सर्जक, खोला र बाघ अरुको बाटोमा हिड्दैनन् भन्ने भनाई छ नि; अरुभन्दा पृथक देखाउन उपनाम राखिन्छ भन्ने मलाई लाग्छ ।’‘साहित्य र जीवनबीचमा कस्तो सम्बन्ध हुन्छ ?’‘नङ र मासुजस्तो ।’‘देखेजस्तै लेख्नुहुन्छ ?’‘लेखिन्छ ।’ उहाँलाई आफ्नै उत्तरमा चित्त बुझेनछ कि कसो । ‘लेख्ने प्रयास गर्छु ।’ अर्को प्रश्न थियो– ‘लेखेजस्तै बाच्नु हुन्छ ।’ उत्तर लेख्नु आवश्यक भएन किनकी अघिल्लो उत्तर नै दोहोरियो । लमजुङको सोतिपसलमा २०३३ मा जन्मिनुभएका समीप नेपाली मुक्तक, गजल, लघुकथा, गीतिनाटक, कविता, कथाजस्ता विधाका शसक्त प्रतीभा हुनुहुन्छ । समीपलाई पोखरेली गजलकारहरू ‘गजल सारथी’ भन्दछन् । पश्चिमाञ्चल र नेपालमै गजलको उल्लेख्य मञ्च र सशक्त संस्था गजल सन्ध्या पोखराको अध्यक्ष भएर उहाँले २ कार्यकाल व्यतित गरिसक्नुभएको छ । २ पटक उत्कृष्ट लघुकथाकारको रूपमा पुरस्कृत समीपलाई पोखरेली युवा संस्कृतिक परिवारले हालै सम्मान ग¥यो । २०६२ मा प्रकाशित उहाँको गजल सञ्चयन ‘भूगोलभित्र नकोरिएको देश’ ले सुदुरपश्चिमाञ्चल गजल मञ्चद्वारा प्रदान गरिने ‘गजल साधना सम्मान २०६३’ प्राप्त गर्न सफल भयो । साहित्य यथार्थपरक हुन्छ, फगत यथार्थको प्रतिविम्व होइन । अनुत्पादक क्षेत्र त झन् हुँदै होइन । उहाँको विचारमा सिर्जनामा साहित्यकारको निजी जीवनका कुनै न कुनै पक्ष आएका हुन्छन् । ती पक्ष उसले चाहेर नै आएको उहाँलाई लाग्छ । कतिपय साहित्यकारका कृति पढेर कृतिकारको व्यक्तिगत जीवन अनुमान गर्न कठिन पनि हुन्छ । जस्तोः वि.पी. कोइराला । ‘सम्पन्न युवायुवतीमा साहित्यप्रतिको रुची किन कम छ ?’‘अग्रजले अनुत्पादक क्षेत्र ठह¥याइदिएकोले ।’उहाँ गजललाई नेपाली साहित्यको लोकप्रिय विधा मान्नुहुन्छ भने उहाँको परिभाषामा मुक्तक साहित्यको चटनी हो जुन जिब्रो फट्कारी–फट्कारी खाइन्छ ।’ अनुभूति र संवेदना सबैको हुन्छ । साहित्यकार जगदिश घिमिरेले चर्चित पुस्तक ‘अन्र्तमनको यात्रा’ मा भनेका छन्– ‘नटुक्रिइ मान्छे बन्दैन, साहित्यकार त बन्दै बन्दैन’ । समीप यो भनाईमा सहमत हुनुहुन्न । उहाँको जवाफ थियो– ‘घात प्रतिघात त जीवनमा सहनु नै पर्छ । म सामान्य अवस्थामा लेख्छु । अत्यधिक दुःख र अति खुसीमा लेख्न सक्दिनँ ।’‘कस्तो मान्छे साहित्यकार बन्न सक्छ ?’‘लेखनमा विचार दिन सक्ने, आम मान्छेले उसलाई अनुशरण गर्न सक्ने र सिर्जना क्षमता भएको मान्छे साहित्यकार बन्न सक्छ ।’ पछिल्लो समयमा हरेकजस्तो एफएम रेडियोमा साहित्यिक कार्यक्रम छन् । पत्रपत्रिकाले पनि राम्रो स्थान दिएका छन् भने साहित्यिक संस्थाहरूको संख्या पनि बढ्दो छ । उहाँलाई अझै संस्थाहरू पर्याप्त नभएको जस्तो लाग्छ भने काम नगरी आसनग्रहण मात्र गर्ने संस्कार हट्नु पर्ने उहाँको विचार छ ।’ पोखरेली गजलको कुरा गर्दा तीसको दशकमा तीर्थ श्रेष्ठहरूले लेख्न छाडेको गजलको यो माहोल २०५० बाट शुरु भएको उहाँको भनाई छ । गजललाई होच्याउनेहरू पनि यो विधामा कलम चलाउन थालेका छन् । अहिलेको अवस्था आउनुले गजल मस्तिष्क, विचार र हृदयको सम्मिश्रणको विधा भएको पुष्टि हुन्छ ।’ उहाँ भन्नु हुन्छ । गजल गायनकै विधा हो सक्नेले गाउने, नसक्नेले वाचन गर्नुपर्छ भन्ने उहाँलाई लाग्छ । उहाँले अहिलेका गजलकारको निमित्त सुनौलो भविष्यले चिहाइरहेको र त्यहाँसम्म पुग्न मेहनत र प्रतीक्षा गर्नुपर्ने बताउनुभयो । ‘साहित्यका किताब विक्दैनन्, आर्थिक उपर्जन हुँदैन भने एउटा मान्छे किन साहित्यमा लाग्ने त ?’‘नेपालमा अहिले यो यथार्थ हो तर यसमा सुधार हुँदैछ । नेपाल बाहिर यस्तो अवस्था छैन । हामीले अब अन्तर्राष्ट्रिय बजारलाई हेर्नुपर्छ ।’ नेपालमा पनि केही लेखकलाई औंला उठाउन सक्ने पाठक पनि छन् । लघुकथा, मुक्तक, गजलका संग्रहहरू तयारीमा रहेको जानकारी पनि उहाँले दिनुभयो । साहित्यमा समाजचेतना, राष्ट्र निर्माण र मनोरञ्जन दिने शक्ति हुन्छ । साहित्यले मानिसमा प्रगाढ नजिकता पनि स्थापित गर्दछ । अपरिचित भए पनि साहित्यकार भएको थाहा पाएपछि नजिक भएका धेरै मान्छेहरू पनि छन् समीपको जीवनमा । उहाँ फ्लासव्याकका पुग्नुभो– ‘१८÷१९ वर्षकै उमेरमा मसँग अटोग्राफ मागिएको क्षण म भुल्न सक्दिनँ ।’ प्राज्ञिक क्षमता हुने सबैसँग साहित्यिक क्षमता नहुन पनि सक्छ ? अध्ययन, आत्मविश्वास, साधनाले सिर्जनालाई निख्खार्ने उहाँ ठान्नुहुन्छ । ‘साहित्य र समीक्षा बिचमा कस्तो सम्बन्ध हुन्छ ?’‘लोग्ने स्वास्नीको जस्तो । कहिले सुमधुर कहिले ठाकठुक । यहाँ कृतिको भित्र नपुगी सतही समालोचना गरिन्छ भने सत्य कुरा गर्दा कृतिकार रिसाउने अवस्था पनि छ ।’ प्रेम शास्वत चिज भएकोले कुरकुरे वैशमा प्रेम प्रस्ताव आउनु उहाँलाई अस्वभाविक लाग्दैन । २०५५ सालमा मागी विवाह गरेकी श्रीमतीलाई उहाँले विवाहअघि देख्नुभएकै थिएन । प्रेमको विषयमा समाज फराकिलो बन्दै गएको उहाँको ठम्याई छ । जीवनलाई नाटक भन्ने उहाँ निर्देशक अदृश्य हुने बताउनुहुन्छ । मृत्युसँग उहाँलाई डर छैन । जागीरे जीवन विताउँदै गर्दा उहाँका भावी योजना के छन् त ?’‘रिटायर्ड लाइफमा त होल टाइमर बन्छु साहित्यको । अहिलेका पाईटाइमर साहित्यकार समीप अन्त्यमा भन्नुहुन्छ– ‘देश बाँचोस् । साहित्य लेखेर आफ्नै भूमिमा स्वाभिमानपूर्वक बाँच्न पाइयोस् ।’

प्रस्तुतिः फडिन्द्र अकिञ्च

No comments:

Post a Comment