कविता
दीपक समीप
* कविताको अनुहार *
अचेल
म दिक्क भएको छु
पढ्दा पढ्दा
डेट एक्स्पायर पोइजन जस्ता
समकालिन भनिने कविताहरु । । । । । । । । ।
म
पढिरहेको छु
अघिल्लो दिन देखिको
त्यत्रो कुँदाकुँदा पछि पनि
रित्तो सिलिण्डर बोकेर
घर फर्कनेको अनुहार जस्तो कविता ।
म
पढिरहेको छु
नाकाबन्दीले तहस नहस
श्रमिकको साँझ विहान जस्तो कविता
मा पढिरहेको छु
अदालतमा पटक पटक पेशी सरेर
फैसला गर्नै बाँकी
फैसला जस्तो कविता ।
म
देखिरहेको छु
धुमिल धुमिल कविहरु
जो दैडिरहेकाछन् फगत दौडिरहेकाछन्
कोही पार्टी कार्यालयतिर
कोही पत्रीका कार्यालयतिर
कोही टी भी रेडियो कार्यालयतिर
कोही चिया पसलतिर
कोही भट्टी पसलतिर
र
कोही मसाज पार्लरतिर
त्यसो त
नेताहरु पनि दौडिरहेकाछन् अहिले
कोही उतरतिर दौडिरहेकाछन्
कोही दक्षिणतिर दौडिरहेकाछन्
कोही सडकतिर दौडिरहेकाछन्
कोही सदनतिर दौडिरहेकाछन्
भूपीको कविता जस्तो यो देशमा
बैसाखी टेकेर दौडनेहरुको
यहाँ ठूलो भिड छ
हामी भने
जरा गाडेर
पढिरहेका छौं तावाका माछा जस्तो कविता ।
साथी !
अचेल
हिट भएकाछन्
बिरामी बोकेको एम्बुलेन्समा
हानिने ढुङा जस्तो कविता
री टुइट गरिएकाछन्
निर्दोषलाई लगाइएको
हतकडी जस्तो कविता
लाईक गरिएका छन्
सडक दुर्घटनामा
लासको ब्यापार गरेर
मागिएको
क्षतिपूर्ती जस्तो कविता
भाइरल भएकाछन्
पोर्न फिल्मका संवाद जस्ता कविता ।
अरे ! ओ !! कवि !!!
तिमी किन लेखिरहेका छौ
रुघाखोकी जस्तो कविता ?
जुन
न तिमीलाई काम लाग्छ
न अरुलाई काम लाग्छ ....... ।
राम्रो कविता ।
ReplyDelete