लघुकथा
बन्द विचार
- दीपक समीप
उजेली र चमेली मन मिल्ने छिमेकी थिए । बाहिरबाट हेर्दा दोस्ती राम्रै हो भन्नू पर्छ हामी देख्नेहरुले पनि । घाँसदाउरा , मेलापात गर्दा पनि प्राय सँगसँगै देखिन्थे उनिहरु ।तर अचानक एकदिन खोइ के मा हो कुन्नी मन मुटाव भएर बोलचाल बन्द भएको भन्ने पनि सुनियो । एउटै गाउँ ठाउँ भएको हुनाले बेलामौका बाझाबाझ गरेको पनि हामीले सुन्यौं । मान्छे मन परेपछि जे बोले पनि जे भने पनि राम्रै लाग्दो रहेछ । मान्छे मन नपरेपछी राम्रै भने पनि नराम्रो लाग्दो रहेछ । सानो घच्चोपच्चो पनि सहन गाह्रै परिरहेको छ अहिले उनिहरुलाई ।
आज एकाबिहानै उजेली फत्फताएकी सुनियो , हेप्नुको पनि एउटा हद हुन्छ नि गाँठे ! घरमा लोग्नेमान्छे छैन भन्दैमा कति विधि हेप्न सकेका ? सक्न पनि ! हुँदा हुँदा अब त त्यसका घरका पशुले समेत हेप्न थाले ए रात्तै !
त्यस घरको राँगो आउँछ मेरै भैंसीमाथी उक्लन्छ ।
त्यस घरको बोको आउँछ मेरै बाख्रीको आगाडी पछाडी सुँघ्छ ।
हुँदा हुँदा त्यसको जाबो कुखुराको भाले समेत आएर मेरै पोथीलाई लखेट्छ बा !
ए ! पातर्नी ! अब त तेरो पोइलाई पनि यतै पठा .... ! त्यही एउटा मात्र आउन बाँकी छ ।
ब्लड प्रेसरको पारो दिमागसम्म सर्केपछी के भन्नू हुन्थ्यो के भन्नू हुन्थेन उजेलीले ख्याल गरिन । रिसको चस्माले झन आँखा देख्न समेत नसक्ने भइ ।
चमेली पनि के कम ! फरिया उचाल्दै पाखुरा सुर्कन थालीहाली , ए ! चोथाले ! कति उफ्रिन सकेकी बिहान बिहानै ! च्यातिदिउँ तेरो मुखसुख ? के सोंच्याछस् मेरो लोग्नेलाई ! पशु हो र !
यता हर्केले भने भित्र भित्रै योजना बुनिसकेको थियो उजेलीसम्म पुग्ने । हुन त हुने हुनामी टरेर टर्दैन भन्छन् । कम से कम पशु भए त दाम्लोले बाँधिराख्न हुन्थ्यो बरु ।
No comments:
Post a Comment