ढुङ्गा
- दीपक समीप
गोधुलीमा
चराहरु गुँड फर्कने बेला
हामीले
आ आफ्ना बासस्थान छोडेका थियौं।
झमझम दर्कने झरी
परिरहेका बेला
हामी निस्किएका थियौं
न हामीसंग छाता थियो न छत्री थियो
न हामीसंग स्याखु थियो न रेनकोट थियो
थियो त साथमा एउटा दृढ अठोट थियो
र हामी डेढ गाउँको
यात्रामा निस्किएका थियौं
एक हुल अक्षर यात्राका यात्रीहरु
अध्यारोमा
पिचबाटो छोडेर
हिलाम्मे रातमाटे बाटो समाएपछि
हाम्रो असली यात्रा शुरु भएको हो
नागबेली हिले बाटोमा चिप्लिदै चिप्लिदै
हामीले रोमाञ्चक यात्रा गरेका हौं
हाम्रा संवादहरुले
आगोमा घ्यू थपिरहदा
धपक्क बलिरहेको
कति सुन्दर देखिरहेकी थियौ
तिमी डेढगाउँ
किवंदन्तिमा
गाई गोठालो जादा
हामीले ठेलो हानेको ढुङ्गा
हराइरहदा
पुन: त्यही ढुङ्गाको थुप्रोमा
राम्रो ढुङ्गा खोज्दा
फेरि पाइन्थ्यो त्यही ठेलो हान्ने ढुङ्गा
हामीले थाहा पाएनौ
अकला माता
तिमी त्यही ढुङ्गा भएको !
साच्चै !
मान्छे पनि त्यही ढुङ्गा जस्तै भएको भए
जनयुद्धमा हराएका
मेरा बा पनि अहिले पाउन सकिन्थ्यो कि !
Friday, January 8, 2021
ढुङ्गा (कविता)- दीपक समीप
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment