गजल
दीपक समीप
जब फाँट भरी शहर बस्छ खेत सकिन्छ किसान सकिन्छ
लाग्छ जस्तो कि आमाको आँखै अगाडी सन्तान सकिन्छ
मेरा छिमेकी जस्तै मिचाहा छन् मेरा देशका छिमेकीहरु
न देशलाई जुरुक्क बोकेर काँधमा कतै लगिजान सकिन्छ
तपाईं सज्जन हुने,उच्च ओहोदामा नपुगुञ्जेलसम्म हो
पुगेकै भोलिपल्ट तपाईंको विवेक,आँखा र कान सकिन्छ
कालन्तरमा पूजनिय भगवान पनि मान्छे जस्तै हुँदा हुन्
जुन दिन भक्तको आस्था,ईश्वरको पनि वरदान सकिन्छ
म सोंचिरहन्छु विश्व भ्रमणमा उडिरहेका चराहरु देख्दा
त्यसपछि के गर्लान् चराहरु जब यिनको उदान सकिन्छ
म पागल भएकोमा मलाई हेर्दै जसरी हाँसिरहेका छौ नि
तिमी नि पक्का बहुलाउँछौ जब मायाको रुझान सकिन्छ
बडो दयनिय हुँदोरहेछ गरीबको घरमा जन्मनु बस्नु पनि
आगो कुर्दाकुर्दै बरा! चिसो चुलोको साँझ बिहान सकिन्छ
जीवनको आशा भरोसा बोकेर बिरामी अस्पताल पुग्छन्
के लाग्छ जीवनजल नपाएर अस्पतालमा परान सकिन्छ
महाशय ! यो कुरा तपाईंले हरदम मनमा राखिरहनु होला
बलको घमण्डले बलवान ज्ञानको अहमले विद्वान सकिन्छ ।
No comments:
Post a Comment